महाथिरद्वारा बाबुरामलाई मलेसिया भ्रमणको निम्तो
###

 १० चैत, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपालका पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई मलेसिया भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेका महाथिरसँग डा. भट्टराईले गरेको भेटमा महाथिरले यस्तो निम्तो दिएका हुन् । सोमबार साँझ ६ बजे डा. भट्टराई महाथिरलाई भेट्न ह्यात होटल पुगेका थिए । भेटका क्रममा आर्थिक, राजनीतिक विषयमा छलफल भएको डा. भट्टराईका स्वकीय सचिव  विश्वदीप पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । भेटमा अविकसित देशले अन्तरराष्ट्रिय सम्बन्ध कस्तो बनाउने भन्ने बारेमा पनि दुई नेतावीच छलफल भएको पाण्डेले बताए । पाण्डेका अनुसार नेपालमा लगानी बढाउनेबारे महाथिरसँग डा. भट्टराईको छलफल भएको थियो । लगानीका विषयमा विचारधारात्मक विषय बाधक बन्न नहुनेमा महाथिरले जोड दिएका थिए । सबै विचारलाई समेटेर अगाडि बढेकाले मलेसिया सफल भएको उनले भट्टराईलाई बताएका थिए । इकोनोमिक समिटमा भाग लिन तीनदिने भ्रमणका लागि शनिबार नेपाल आएका मलेसियन पूर्वप्रधानमन्त्री महाथिरले सोमबार राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गरेका थिए । उनले उद्योगी व्यवसायी एवं राजनीतिज्ञसँग भेटघाट गरेका थिए । साथै महाथिरले सभासदहरुसँग पनि अन्तरक्रिया गरेका थिए ।
####

0 comments

Write Down Your Comment