मतदान क्रमको हिंसामा बंगलादेशमा एक दर्जन बढी मारिए
###
![]() |
ढाका– बंगलादेशमा आइतबारको आम चुनावमा मतदानका क्रममा भएका विभिन्न हिंसामा एक जना निर्वाचन अधिकृतसहित कम्तिमा १५ जना मारिएका छन्। राजधानी ढाकामा छिटफुट हिंसाका घटना भए पनि देशका अन्य भागमा भने हिंसाका घटना निकै भएको सञ्चारमाध्यमले जनाएका छन्। ढाकाको मध्य भागमा रहेको जगन्नाथ विश्वविद्यालयनजिकै आइतबार बिहान मतदानका बेला विस्फोट भएको थियो। ढाकाका अन्य भागमा समेत यस्ता विस्फोट भएका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रहरीले विस्फोट ककटेल बम अर्थात घरेलु बमबाट गरिएको जनाएको छ। प्रहरीका अनुसार यस्ता विस्फोट मतदातालाई तर्साउनका लागि मात्र गरिएका थिए। विस्फोटपछि ढाकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी(बिएनपी)सहित सहयोगी २० दलले चुनाव बहिस्कार गरेका छन्। विपक्षीको बहिस्कारका कारण आम चुनावको वैधतामाथि समेत प्रस्न उठेको छ।
सञ्चारमाध्यमले राजधानी ढाकामा आइतबार जम्मा १५ प्रतिशत मात्र मतदान भएको उल्लेख गरेका छन्। मतदानका लागि गरिएको व्यापक तयारी र आग्रहका वावजुद राजधानीका सडक आइतबार खाली थिए र मतदान केन्द्रमा समेत मतदाता फाट्टफुट्ट मात्र देखिएका थिए। निर्वाचन विश्लेषकले मतदाताको उत्साह नदेखिएका कारण बंगलादेशभर ३० प्रतिशत मतदान भए ठूलो उपलब्धि हुने बताएका छन्। बंगलादेशमा यसअघि सन् २००८ मा भएको आम चुनावमा ८.१ करोड मतदाता थिए र चुनावमा ७० प्रतिशत मतदान भएको थियो।
चुनावको पूर्वसन्ध्यामा शनिबार सयभन्दा बढी मतदान केन्द्रमा विपक्षीले आगजनी गरेका थिए। शनिबार भएका हिंसक प्रदर्शनमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो। ढाकामा हरेक ५ सय मिटरको दुरीमा सुरक्षा बनाइएका नाकामा परिचय पत्र बोकेर मात्र सर्वसाधारणलाई आइतबार हिँडडुल गर्न दिइएको थियो।
प्रदर्शनकारीले निर्वाचन बिथोल्न आइतबार २ सयभन्दा बढी मतदान केन्द्रमा आगो लगाउँदै मतपत्र जलाएपछि प्रहरीले गोली प्रहार गरेको थियो। मर्नेमा दुई जना उत्तरी जिल्लामा मतदान केन्द्रका सुरक्षाकर्मी समेत थिए। उनीहरूलाई प्रदर्शनकारीले कुटेर मारेका थिए। उत्तरी बोग्रा जिल्लाका प्रहरी प्रमुख सैयद अबु सयमले मतदान केन्द्रमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेको र सुरक्षाकर्मीलाई समेत पेट्रोलबम प्रहार गरेको बताए।
अधिकांशको मृत्यु प्रहरीको गोलीले भएको थियो भने एक जना चालकको मृत्यु उनकै ट्रकमा पेट्रोलबम लागेपछि भएको थियो। उत्तरी भागस्थित पार्वतीपुरका प्रहरी प्रमुख मकबुल हुसेनले प्रदर्शनकारीद्वारा बन्दुक र साना बमसमेत हानेकाले प्रहरी गोली चलाउन बाध्य भएको बताए।
उनले प्रदर्शनकारीद्वारा मतपत्र र प्रहरीको हतियार समेत लुट्न प्रयास गरिएको बताए। राजधानी ढाकामा हजारौं प्रहरी र सेना सडकमा उतारिएको थियो। तर सर्वसाधारणको उपस्थिति भने सडकमा थिएन।
आम चुनाव घोषणा भएयत त्यहाँ चुनावविरोधी प्रदर्शनमा १ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ। चुनाव गराउने अडानमा रहेको सरकारले देशभर ५० हजार हजार सैनिक तैनाथ गरेको थियो।
सत्ताधारी अवामी लिगले प्रमुख विपक्षी बिएनपीमाथि हिंसा गरेको आरोप लगाउँदै बेगम खालिदा जियालगायत नेतालाई घरमै नजरबन्द गरेको छ।
यसअघिको निर्वाचनमा कामचलाऊ सरकार गठन गरी निर्वाचन गरिन्थ्यो भने बिएनपीले प्रधानमन्त्री सेख हसिना वाजेदद्वारा पनि त्यस्तै सरकार गठन गर्नुपर्ने माग गरेका थिए।
विपक्षीले अनेकौं साता हिंस्रक प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीले यातायात बन्द गर्नुका साथै हडताल आह्वान गरेका थिए। सरकारी अधिकारीले निर्वाचनमा मतदान थोरै मात्र भएको स्वीकारेका छन्।
प्रमुख निर्वाचन आयुक्त काजी रकिबुद्दिन अहमदले धेरै दलले निर्वाचन बहिस्कार गरेकाले मतदान कम भएको बताए। ८ घण्टासम्म मतदान भएपछि मतकेन्द्र दिउँसो ४ बजे बन्द भएका थिए। त्यसपछि मतगणना सुरु भएको छ। निर्वाचनको परिणाम सोमबार बिहानसम्म आउने अपेक्षा छ।
संसदका ३ सय सिटमध्ये आइतबार १ सय ४७ सिटका लागि मात्र मतदान भयो। बाँकी १ सय ५३ सिटमा सत्तारुढ अवामी लिग र उसका सहयोगी दल निर्विरोध भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। वाजेद सरकारले संसदको पाँच वर्षे पदावधि सकिएकाले निर्वाचन गरिएको दाबी गरेको छ। सत्ताधारी पार्टीका वरिष्ठ नेता तोफाएर अहमदले चुनाव प्रजातन्त्रको विजय भएको दाबी गरे।
विश्लेषकका अनुसार निर्वाचनले हिंसा अझै चर्काउने छ। विश्वको धेरै जनसंख्या भएको देशमध्ये बंगलादेश आठौंमा पर्छ। बंगलादेश एसियाको गरिब देशमध्ये एउटा हो। त्यहाँका एक तिहाइ सर्वसाधारण अझै गरिबीको रेखामुनी छन्।
अमेरिका, बेलायत, युरोपेली महासंघसहित राष्ट्रमण्डलले आम चुनावमा आफ्ना पर्यवेक्षक पठाएनन्। उनीहरूले सत्तारुढ र विपक्षीलाई समस्या सुल्झाउन वार्ता गर्न दबाब दिएका थिए।
####
0 comments
Write Down Your Comment