###
![]() |
नौबिसे (धादिङ), वैशाख ४ - ठेक्का अवधि सकिन पाँच साता बाँकी रहादा राजधानी प्रवेशको मुख्य नाका नौबिसे-नागढुङ्गा खण्डको मर्मत ५० प्रतिशत मात्र पूरा भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका प्राविधिकका अनुसार ११ महिना अवधिमा उक्त काम भएको हो । ढिलासुस्ती र ठेकेदारको लापरबाहीले तोकिएको समयमै काम नसकिने लक्षण देखिएको छ ।
जेठ १३ गतेसम्म काम सक्न डिभिजन कार्यालयले निर्माण कम्पनी महादेव खिम्ती-मिचिकोलाई समयावधि तोकेको छ । गत असारमा ५ करोड ८५ लाख ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ११ महिनामा लगभग आधा काम मात्र गरेको इन्जिनियर तथा साइड सुपरभाइजन गागल भण्डारीले बताए ।
'अब बाँकी काम महिना दिनमा नसके बर्खाभरि यात्रुले हैरानी पाउनेछन्,' डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने ।
कालोपत्रे भत्केको करिब १० ठाउँमा एक हजार ७० मिटर दुई लेन ढलान सुरु गरिएको छ । अहिलेसम्म सबै ठाउँमा एकतर्फी ढलान मात्र भएको भण्डारीले जानकारी दिए । सडक विस्तार र ढलानका लागि डाइभर्सन खोलिएको ठाउँमा पानी परेको समयमा हिलो र चिप्लो हुने हुँदा बाटो अवरुद्ध हुने गरेको छ । ठेकेदारको अहिलेकै गतिले महिना दिनमा काम सक्न गाह्रो हुने पोखरेलले बताए । 'ठेकेदारलाई पटकपटक ताकेता गरेपछि पछिल्ला दिनमा गति बढेको छ,' उनले भने ।
काममा ढिलासुस्ती र लापरबाही गरेको भन्दै डिभिजन कार्यालयले कारबाहीका लागि डेढ महिनाअघि सार्वजनिक सूचना नै जारी गरेको थियो । सबैभन्दा बढी सडक भत्केको याकघरमा एक लेन ढलान सकिएको भण्डारीले बताए ।
यसबाहेक झ्याप्ले खोला, खिस्टे खोला, गणेश मन्दिर, रात्रीपौवा, सुँगुरे खोलामा पनि एक लेन मात्र ढलान गरिएको छ । 'तोकिएको अवधिमा दुई लेन नै ढलान सक्न निकै तीव्रता दिनुपर्छ,' इन्जियनियर भण्डारी बताउँछन् । दुई/तीन दिनयता पर्याप्त मजदुर र निर्माण
सामग्री प्रयोग गरेर काम भएको उनले बताए ।
उक्त सडकको मर्मत महिना दिनभित्र सक्न भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले मंगलबार निर्देशन दिएका थिए । यसअघि प्रधानमन्नी कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले पनि फागुनभित्रै सक्न निर्देश गरेका थिए । उच्च सरकारी प्रतिनिधिले पटकपटक निर्देशन दिए पनि काम हुन सकेको छैन ।
ढिलासुस्तीका कारण अस्तव्यस्त बन्दै गएको सडकको मर्मत ठेक्का अवधि अगावै सक्न मन्त्रीले स्थलगत अनुगमनपछि निर्देशन दिएका हुन् । 'तत्काल दुई लेन सडक बनाउनुपर्यो', उनले भने, 'थप विस्तार र वैकल्पिक व्यवस्थाको योजना सरकार र सडक विभागले बनाउँछ ।' राजधानी प्रवेश गर्ने वैकल्पिक सडक मार्गबारे सरकारले कदम चाल्ने उनको भनाइ थियो ।
####
0 comments
Write Down Your Comment