बुङबुङ्ती धुलो
###

काठमाडौं-लाजिम्पाटकी इन्दिरा श्रेष्ठ सडक विस्तार क्रममा निस्किएको धुलोले पटकपटक बिरामी परिरहन्छिन्। धुलोकै कारण श्वासप्रश्वासमा समस्या आएपछि केही महिनायता उनी दुईपटक टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भइसकिन्।


उनी डाक्टरको सल्लाहअनुसार हिजोआज सकभर घरबाहिरै निस्किन्नन्। निस्कनैपरे मास्क टुट्दैन।

इन्दिरा र उनका श्रीमान राजेश सडक विस्तार भइरहेको धुलाम्मे लाजिम्पाटमा किराना पसल चलाउँछन्। दिनहुँ पसलमा बस्दा धुलो र धुवाँ खाएर इन्दिरा 'रोगी' भएपछि अचेल पसलमा बस्ने काम राजेशको भागमा परेको छ। इन्दिरा बिहान खाना खाने बेला पालो दिन मात्र आउँछिन्। अरू बेला घरको घरै।

'डाक्टरहरूले धुलो र धुवाँबाट जोगिनू भनेका छन्, लाजिम्पाटको हालत त देख्नुभएकै छ, कोठाधरि धुलोले कुइरीमण्डल हुन्छ, पसलमा त बसिसाध्य छैन,' बिहीबार त्यही पसलमा धुलो लागेका सामान टक्टक्याइरहेका राजेशले नागरिकसँग भने, 'अचेल उनी घरभित्रै बस्छिन्, पसलमा बसे फेरि तेस्रोपटक अस्पताल भर्ना गर्नुपर्ला भन्ने डर।'

पसलका सामान, फर्निचर र आफ्नै कपडामा जमेको धुलो देखाउँदै उनले भने, 'कपडा र सामानको धुलो त पटकपटक पुछ्दा जाला, तर सास फेर्दा हाम्रो फोक्सोमा पुगेको धुलो कसरी सफा होला?' दुई वर्षदेखि यसैगरी धुलोसँग जुध्दै व्यापार गर्दा आफू पनि पटकपटक रुघाखोकीले आक्रान्त भएको उनी बताउँछन्।

सडक विस्तारका नाममा राजधानीमा भइरहेका निर्माण कार्य हेर्ने हो भने सरकार र ठेकेदार कम्पनीहरू सर्वसाधारणको स्वास्थ्यप्रति अत्यन्तै लापरवाह रहेको प्रस्टै देखिन्छ। बीच बजारमा सास फेर्नै गाह्रो हुनेगरी बुङ्बुङ्ती धुलो उडाएर कुनै पनि निर्माण गर्नुहुन्न भन्ने सामान्य चेत न सरकारले राखेको छ, न निर्माण ठेकेदारहरूले। उनीहरूको यो रवैयाले

दिनहुँ इन्दिराजस्ता सयौं श्वासप्रश्वासका रोगी जन्मिरहेका छन्।

सरकारी निर्माणमा देखिएको बेथितिको एक ज्वलन्त उदाहरण हो, लाजिम्पाट।

राजधानीको अति व्यस्त सडक लैनचौर–पानीपोखरीको १५ सय मिटर खण्डमा दुई वर्षदेखि धुलोको राज छ। निर्माण क्रममा धुलो उड्न नपाओस् भनेर नियमित पानी हाल्नुपर्छ। तर, ठेकेदारले आफ्नो यो जिम्मा पूरा नगर्दा सडकमा दिनभरि बुङ्बुङ्ती धुलो उडिरहेको हुन्छ। त्यहीबीच सवारीसाधन धुलो र धुवाँले कुइरीमण्डल पार्दै बेतोड हुइँकिन्छन्। धुलोकै कारण दुई मिटर अगाडि–पछाडि देख्नसमेत मुस्किल पर्छ। सडक दायाँबायाँका घर तथा पसल धुलोले छपक्कै ढाकेका हुन्छन्। जिउ नै ढाक्ने धुलो छिचोल्दै बटुवाहरू अनुहारमा मास्क र टाउकोमा रुमाल वा अन्य कपडा बेरेर हिँडिरहेका हुन्छन्। धुलोकै कारण स्थानीयदेखि लाजिम्पाट हुँदै दिनहुँ आउजाउ गर्ने बटुवामा श्वासप्रश्वासको रोग बढ्दो छ।

'सरकारले सडक निर्माणमा चरम लापरबाही देखाएको छ, न धुलो नउडोस् भनेर पानी छर्कन्छ, न निर्माण नै समयमा सक्छ,' लाजिम्पाटका स्थानीय बाबुकाजी महर्जनले भने, 'यही धुलो र धुवाँले यहाँका स्थानीय सबैजना पटकपटक बिरामी परिरहेका छौं, अब थला पर्न मात्र बाँकी छौं।'

ठेकेदारले सडकमा पटकपटक पानी हाल्नुपर्नेमा एकचोटि पनि नहाल्दा यस्तो समस्या आएको उनले बताए। 'यसरी मनलाग्दी काम गर्दा पनि ठेकेदारलाई कारबाही हुँदैन,' उनले भने, 'सर्वसाधारणको स्वास्थ्यसँग यहाँ कसैलाई सरोकारै छैन।'

लाजिम्पाट मात्र होइन, विस्तारित अन्य सडक खण्डमा पनि ठेकेदारको लापरवाहीले धुलो उड्ने क्रम बढिरहेको छ। पछिल्लो समय रुघाखोकी, एलर्जी, ब्रोङकाटिसजस्ता श्वासप्रश्वासजन्य रोगको समस्या देखिनुमा यही विस्तारित सडकको धुलोधुवाँ प्रमुख कारण रहेको पाटन अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन्।

उनका अनुसार छोटो समयका लागि धुलोको सम्पर्कमा आउने व्यक्तिमा रुघाखोकी, एलर्जी, ब्रोंकाइटीसजस्ता समस्या देखिन्छन् भने लगातार सम्पर्कमा आइरहनेलाई कडा खालको दम (क्रोनिक अब्स्ट्रेटिक पल्मोनरी डिजिज–सिओपिडी), क्षयरोग र फोक्सोको क्यान्सरसम्म हुने खतरा छ।

'श्वासप्रश्वासको सामान्य समस्या देखिएका बिरामी लामो समय धुलोको सम्पर्कमा आइरहे उनीहरूको अवस्था झनै गम्भीर हुँदै जान्छ,' डा. कार्कीले नागरिकसँग भने। राजधानीका विस्तारित सडक खण्डमा पसल चलाउने, ओहोरदोहोर गर्ने र ट्राफिकहरू लगातार धुलो र धुवाँको सम्पर्कमा आएर कालान्तरमा दम, सिओपडीजस्ता श्वासप्रश्वासको दीर्घ समस्याबाट पीडित हुने खतरा रहेको उनले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अन्तर्राष्ट्रिय मापदण्डअनुसार वायुमा धुलोको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनुहुन्न। नेपालले उक्त मापदण्डलाई आधार मानेर १ सय २० माइक्रोग्राम प्रति घनमिटरसम्मको राष्ट्रिय मापदण्ड बनाएको छ। तर उपत्यकामा यी दुवै मापदण्डको तुलनामा पा"च गुणा बढीसम्म प्रदूषण रहेको विभिन्न अध्ययनले देखाएको छ।

वातावरण मन्त्रालयले सन् २००५ मै गरेको एक अध्ययनमा उपत्यकाका अधिकांश स्थानमा धुलोको मात्रा राष्ट्रिय मापदण्डभन्दा झन्डै तीन गुणा बढी अर्थात् ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटर देखिएको थियो। त्यसयता ६० प्रतिशतभन्दा बढी प्रदूषण भइसकेको स्वच्छ ऊर्जा नेपालका अनुसन्धानकर्ता मञ्जित ढकालले बताए।

'पछिल्लो समय बढेका सवारीसाधनको संख्या र सडक विस्तार क्रममा भत्काइएका संरचनाले प्रदूषणको मात्रा झन् बढाएको छ,' उनले भने, 'मापदण्डभन्दा बढी प्रदूषणले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्नेछ।'

वातावरण मन्त्रालयकै तथ्यांकअनुसार पनि सन् २००५ मा लाजिम्पाट–लैनचौर खण्डमा प्रदूषणको मात्रा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी थियो। त्यसैलाई आधार मान्दा पनि उक्त स्थानका मानिस फोक्सो तथा श्वासप्रश्वासका विभिन्न रोगको जोखिममा रहेको छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बम बताउँछन्।

'पछिल्लो समय बढेको धुलो, धुवाँ र प्रदूषणले त रोगीको संख्या ह्वात्तै बढाएको छ,' उनले भने, 'प्रदूषण रोक्ने विषयमा सरकारले समयमै ध्यान नदिने हो भने अबका केही वर्षपछि श्वासप्रश्वाससम्बन्धी रोगको अवस्था भयावह हुनेछ।'

ढकालका अनुसार राजधानीका सडकमा आँखाले देख्न नसक्ने धुलोका कण जोखिमपूर्ण अवस्थामा छ। धुलोका मसिना कण 'पिएम' १० माइक्रोनभन्दा कम भए नाकबाट सहजै भित्र छिर्न सक्छ। त्यही धुलो सास नली र फोक्सोमा जमेर विभिन्न समस्या ल्याउँछ।

विज्ञहरूका अनुसार पिएम–१० लगायत मसिना धुलाका कण नै सबैभन्दा खतरनाक वायुप्रदूषक हुन्। सवारीसाधनबाट निस्कने धुवाँमा यस्ता मसिना धुलाका कण प्रशस्त हुन्छन्।

अन्य धुलोसँगै मिसिएर श्वासप्रश्वास क्रममा मानिसको फोक्सोसम्म पुग्ने यस्ता कणमा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बनजस्ता विषालु रासायनिक पदार्थ र गह्रौं धातुका कण टाँसिएका हुन्छन्। यी पदार्थका कारण मानिसको फोक्सोमा क्यान्सर हुन सक्छ। रगतमा मिसिएर मुटु तथा स्नायुसम्बन्धी रोगसमेत लाग्न सक्छ। पिएम–१० धुलाका कण ज्यादै मसिना भएकाले नाकको रौंले पनि रोक्न सक्दैन।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेल भने ठेकेदारले निर्माणाधीन सडकमा पानी हालिरहेको दाबी गर्छन्। सडक निर्माणमा भएको ढिलाइ धुलोको समस्या बढ्नुको कारक रहेको उनको भनाइ छ।

उनको यो दाबी कतै पनि पूरा भएको पाइँदैन। उपत्यकाका निर्माणाधीन कुनै पनि सडकमा नियमित पानी हालिएको छैन। लाजिम्पाट क्षेत्रमा स्थानीयले विरोध गरेपछि 'झारा टार्न' बिहान–बेलुकी पानी हाल्ने गरिएको थियो। त्यो पनि नियमित छैन। त्यसमाथि दिनभरि उड्ने धुलोलाई बिहान–बेलुकी हाल्ने पानीले एकछेउ पनि काम गर्दैन।

'अहिलेको रफ्तारमा प्रदूषण बढ्दै जाने हो भने नेपालमा भविष्यमा सिओपिडीका बिरामी नै धेरै हुनेछन् र मृत्युको प्रमुख कारण यही हुनेछ,' डा. कार्कीले भने, 'यो रोगमा श्वासनली साँघुरिँदै गएर सास फेर्न गाह्रो हुन्छ। समस्या बढ्दै गएपछि सास रोकिएर मानिसको मृत्युसमेत हुन सक्छ।'

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ। गत आर्थिक वर्ष वीर अस्पतालमा भएको कूल मृत्युमध्ये सिओपिडीबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै थियो। अस्पतालको रेकर्ड शाखाका अनुसार गत वर्ष मेडिकल ओपिडीमा झन्डै ५५ हजार बिरामी उपचारका लागि आएका थिए। तीमध्ये श्वासप्रश्वास तथा फोक्सोको समस्याका मात्र १३ हजारभन्दा बढी बिरामी थिए। अस्पतालमा आएका बिरामीमध्ये सिओपिडीका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका बिरामी ४ सय १२ थिए। तीमध्ये ४८ जनाको मृत्यु भएको छ।

त्यस्तै, वीर अस्पतालमा कूल मृत्युमध्ये निमोनिया दोस्रो नम्बरमा छ। गत वर्ष अस्पतालमा निमोनियाका कारण भर्ना नै गर्नुपर्ने अवस्थामा पुगेका २ सय १४ बिरामीमध्ये ३१ जनाको मृत्यु भएको थियो। रेकर्ड शाखाका अनुसार मेडिकल ओपिडीमा आएका बिरामीमध्ये निमोनियाका बिरामीको संख्या ५ हजार भन्दामाथि थियो। निमोनियाको प्रमुख कारण पनि धुलो र धुवाँ नै हो।

देशका अन्य अस्पतालमा समेत सिओपिडी, दम, निमोनिया, ब्रोङकाइटिसजस्ता फोक्सो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या उच्च रहेको डा. कार्कीले बताए। उनका अनुसार उपचारका लागि मेडिकल विभागमा आउने बिरामीमध्ये एकतिहाइभन्दा बढीमा श्वासप्रश्वासको समस्या छ।

####

,

0 comments

Write Down Your Comment